काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रवार आयोजित प्रथम साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए।

उनले उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि बताए। कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका प्रयत्न गरेको उनले बताए। ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उनको भनाइ थियो।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढंगले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको पनि उनले बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनर्उत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे।

आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताए। उत्पादन बढाउँदा आयात आफैँ निरुत्साहित हुने उनको भनाइ छ। उनले नीतिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि माग गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version