काठमाडौँ: आइतबार र सोमबारको ७३ अंकको गिरावटपछि मंगलबार सामान्य सुधार आएको नेप्सेमा बुधबार फेरि ३२.४१ अंकको उच्च गिरावट आएको छ ।
बुधबार नेप्से २ हजार ६३२.१० अंकमा झरेर बन्द भएको छ । यसदिन २०९ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर ६६ हजार ४८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ पुगेको छ । उक्त करोबार रकम मंगलबारको तुलनामा २३ करोड ३६ लाख रुपैयाँले बढेको हो ।
ओपनिङ्गदेखि नै तीब्र दबाब झेलेको सूचक अन्तिमसम्मै घटेर बन्द भएको हो । यद्यपी ऋणात्मक बजारमा पनि ४ कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने कुस्त रुपमा कमाएका छन् । ती कम्पनीको शेयरमूल्य सर्किट लेबलमा बढेको छ ।
बजारका सक्रिय लगानीकर्ताहरु बजारमा आएको करेक्शन सामान्य रहेको बताउँछन् । अल्पकालीन लगानीकर्ताहरु हाबी हुँदा बुधबार फेरि बजारले ओरालो यात्रा समातेको उनीहरुको विश्लेषण छ ।
दोस्रो बजारमा एक दशकदेखि सक्रिय लगानीकर्ता वेदनाथ घिमिरेले भनेः- “शेयर बजारको सौन्दर्यता भनेकै बढ्नु र बढेपछि घट्नु हो । अल्पकालीन लगानीकर्ताले एउटा निश्चित प्रतिशत मुनाफा आर्जन भएपछि नाफा सुरक्षित गर्नु स्वभिाविक नै हो । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक प्रतिवेदनमा नाफा राम्रै बढेकाले बजार केही दिनभित्र ब्याउन्स ब्याक हुने सम्भावना देखिन्छ । एक दुई दिन बजार घट्दैमा आफूसँग भएको शेयर बिक्री नगरी बरु घट्दो मूल्यमा आफ्नो लागत घटाउनतर्फ लगानीकर्ता लाग्नुपर्छ । ”
शेयर बजारमा छिटो छिटो मनस्थीति फेरिने मानिसले नाफा आर्जन गर्न नसक्ने बताउँदै बजारबाट नाफा कमाउन धैर्य रहनुपर्ने उनको बुझाई छ । यता मंगलबार थामिएको बजारमा बुधबार फेरि घटेपछि नयाँ लगानीकर्ताहरुमा भने बजार अझै घट्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
बजार घटेसँगै शेयर लगानीकर्ताको सम्पत्ति माप बजार पूँजीकरणमा एकैदिन ४४ अर्ब ८७ करोड रुपैयाँले ह्रास आई ३६ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँमा संकुचित बनेको छ । मंगलबार ३६ खर्ब ८९ अर्ब ६९ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेको थियो ।
