काठमाडौँ: यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ।

नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ।

प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७ रूपैयाँ पाउने छन्। जसमा ४८ रूपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता रहनेछ।

तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा समेत रोजगारदाताले श्रमिकहरूलाई उपलब्ध गराउनु पर्नेछ।

श्रमिकको पारिश्रमिक हरेक दुई-दुई वर्षमा पुनरावलोकन गरिँदै आएको छ। अघिल्लो वर्ष नै पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीको कारण देखाउँदै पुनरावलोकन गरिएको थिएन।

यस वर्ष पनि कोरोना महामारीका कारण न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे १ को अवसरमा मा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्‍याउने घोषणा गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version