काठमाडौं: नेकपा (माओवादी केन्द)ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघटन गर्ने प्रधानमन्त्री र सरकारको तयारी रुपमा अर्थ्याएको छ।
‘धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘त्यो प्रयोग नगरिकनै एकैचोटी उपधारा ५ मा जम्प गरे।’
उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उदेश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको गुरुङको दावी छ। ‘उपधारा ५ का लागि पनि जुन ‘टाइमफ्रेम’ तोकिएको छ, यो सरकार बन्न नसकोस् भन्ने उदेश्यबाट अभिप्रेरित भएको देखिन्छ,’ उनको भनाइ छ, ‘सरकारको नियत त्यति राम्रो छैन् । जसरी भए पनि संसद विघटन गर्ने तयारीमा उहाँहरु (राष्ट्रपति र प्रधानमन्त्री) हुनुहुन्छ ।’
