काठमाडौँ: जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव समूहसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय दलको बैठक बस्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले यादव समूहसँग पनि छलफल गर्ने बताएका हुन् । अहिले सिंहदरबारस्थित कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने सहभागी भएको छैन । ठाकुरले यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने ।

अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट भएको बताए ।

त्यस्तै ठाकुरले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रपति निवास गएको तर राजनीतिक कुराकानी नभएको दाबी गरे । उनले भने, ‘चिया खानका लागि गएको हो । एक कप चिया खाएँ अनि फर्किएँ । स्वास्थ्य के कस्तो छ भन्ने छलफल भयो अरु केही भएन ।’

जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको पनि उनले बताएका छन् । ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको छ,’ कर्णले भने, ‘जानकारी त सबैलाई गरिएको छ तर हुन्छौं होला १८-१९ जना ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version