काठमाडौँ: स्थानीय बजारमा सुनको माग बढेसँगै चरम अभाव देखिएको छ । तिजको अवसरमा सुनको माग बढेपनि आपूर्ति कमी हुँदा बजारमा सुनको अभाव भएको व्यवसायी तेज रत्न शाक्यले बताए ।

तिज नजिकिँदै जाँदा माग पनि बढ्दै गएको र सरकारले माग अनुसार आपूर्ति नगर्दा बजारमा सुनको अभाव हुँदा उपभोक्ता तथा व्यवसायी मारमा परेको उनको भनाई छ ।

उनका अनुसार सुनको माग बढेर दैनिक ३५-४० किलो पुगेको छ तर बजारमा २० किलो आपूर्ति छ । मागको यो परिमाण अझै बढ्ने र दैनिक ५० किलो सम्म पुग्ने उनले बताए ।

तिजमा छड्के तिलहरी, ठूलो तिलहरी, माइली तिलहरी, क्लिप, जन्तर, चन्द्रमा, हातमा लगाउने बालालगायत पुराना गहनाको माग बढी हुने गरेको उनले बताए ।

उनले भने-“बजारमा मागको अनुपातमा आपूर्ति छैन । ग्राहकको मागअनुसार व्यवसायीले सुन उपलब्ध गराउन सकेका छैनन् । यसमा सरकारले ध्यान दिनुपर्ने हो । सरकारको लापरबाहीका कारण बजारमा सुनको अभाव भइरहेको छ ।”

महासंघ तथा व्यवसायीले नेपाल राष्ट्र बैंकका पदाधिकारीलाई भेटि माग अनुसार सुनको आपूर्ति बढाउन माग गरेपनि हालसम्म आपूर्ति नबढाएको उनले गुनासो राखे ।

सरकारले सुनको बजार २० किलोमा सीमित गर्दा कालोबजारी भइरहेको शाक्यको भनाइ छ ।

“हाल एउटा व्यवसायीले हप्तामा ५ तोला सुन पाउछ तर एउटा उपभोक्तालेनै दिनमै ५ तोला सुनको अडर गर्छ । हामीले ग्राहकको अडर लिन सकेका छैनौ । ”

माग बढी हुने चाडपर्बको समयमा पनि सुन व्यापार गर्न नपाउदा व्यवसायीहरु मारमा परेको बताउदै, आपूर्ति कमि हुँदा बजारमा कालोबजारी सिर्जना हुँदा उपभोक्ताले बढी मूल्य तिर्न बाध्य भएको उनले बताए ।

बजारमा सुनको कालोबजारी तथा डलर संग नेपाली रुपैयाँ अबमुल्यन हुँदा उपभोक्ताले प्रति तोला २००० रुपैयाँ सम्म महँगो तिर्न बाध्य भएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि स्थानीय बजारमा मूल्य नघटेको उनले बताए । नेपाली रुपैयाँ कमजोर हुँदा हामीले बढी मूल्य तिर्नु पर्ने भएकोले सुनको मूल्य घटना नसकेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस १,१८९ १ अमेरिकी डलरमा झेरेको छ । स्थानीय बजारमा प्रतितोला ५६ हजार रुपैयाँको हाराहारीमा कारोबार भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version