काठमाडौँ: चालू आर्थिक वर्षमा तोकिएको ४.०१ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ।

चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको दोस्रो लहर फैलिएसँगै निर्धारित ४.०१ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुन चुनौतीपूर्ण रहेको बताएका हुन्।

सरकारले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। त्यसलाई फेरि संशोधन गरी ४.०१ प्रतिशतमा झारिए पनि पूरा नहुने भएको हो।

‘स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वाृद्धिदर चालू आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो’, मन्त्री पौडेलले भने, ‘तर चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड महामारीको दोस्रो लहरको कारणले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको छ।’

चालू आर्थिक वर्षको कुल मूल्यवृद्धि, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८, १३.१, ६१.१ प्रतिशत रहेको अनुमान छ।

मन्त्री पौडेलका अनुसार चालू आवमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको छ।

चालू आवको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ४२ खर्ब ६६ अर्ब ३२ करोडमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३७.०७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.० प्रतिशत रहेको अनुमान रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए।

आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले ०७६÷०७७ मा आर्थिक वृद्धिदर २ दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको जानकारी दिए।

अर्थतन्त्र सकारात्मक
यसैबीच, कोभिड १९ को महामारीबीच पनि सरकारले अर्थतन्त्र सकारात्मक नै रहेको बताएको छ।

शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले महामारीको केही असर भए पनि समग्र अर्थतन्त्र सकारात्मक नै भएको बताए।

‘हामीले गत वर्षको कोरोनापछि भी आकारमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेका थियौँ’, उनले भने, ‘वैशाखबाट दोस्रो लहर फैलिएपछि त्यसमा केही असर गर्ने देखिन्छ।’

अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र संकचन हुने अवस्था नरहेको बताए।

‘बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हुने अवस्था रहेन तर पनि सकारात्मक नै हुनेछ’, ढुंगानाले भने, ‘वैदेशिक व्यापार, रेमिट्यान्स लगायको क्षेत्र राम्रो नै रहेको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version