काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको मन्त्रिपरिषद्को सिफारिस बमोजिम ४३० जना कैदीहरुको बाँकी कैद भुक्तान मिनाहा गरी माफी दिएको छ ।
मन्त्रिपरिषद्को यही जेठ १३ गते बसेको बैठकले डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गर्ने निर्णय गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
यस्तो छ राष्ट्रपतिको बिज्ञप्ती
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा मिति २०७८/२/१५ गते देखि लागू हुने गरी डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता
