मदत्तनगर : १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएकोबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान दुई दिदी बहिनी बबिता बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट घटनाको थप अनुशन्धान गर्न पक्राउ गरिएको त्यहाँ स्थित स्थानीय पत्रकार राजेन्द्र अवस्थीले जानकारी दिए । बबिता र रोशनी शुक्रबार राती नै पक्राउ परे पनि प्रहरीले आज बिहान मात्रै घटनाको जानकारी गराएको अवस्थीले बताए ।
निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला आफ्नो घर तर्फ फर्कने क्रममा वेपत्ता भएकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएकी थिइन् ।
दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।
निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।
भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।
दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।
दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।
