काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।
तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त रहँदै आएको छ । सोही विषयलाई लिएर आज नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो ।
बैठकपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय भएको जानकारी दिए ।
सामाजिक रुपमा भएका त्यस्ता आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न समेत बैठकले आग्रह गरेको छ ।
अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सबैलाई एकताबद्ध भएर सहकार्य गर्न अपिल गर्ने निर्णयसमेत बैठकले गरेको नेता श्रेष्ठले जानकारी दिए ।
