भीमदत्तनगर: बिगत पाँच दिनदेखि कञ्चनपुरको भीमदत्तनगरमा चर्किएको आन्दोलन आजबाट साम्य हुनेभएको छ ।
स्थानीय प्रशासनको पहलमा आज बसेको सर्वदलीय बैठकमा सरकार र स्थानीयबीच चार बुँधे सहमति भएपछि स्थानीयले आन्दोलन रोक्ने सहमति भएको त्यहाँबाट हाम्रा स्थानीय समाचारदाता राजेन्द्र अवस्थीले पहिलोक्लिकलाई जानकारी दिए ।
हिजो भएको झडप परी गोलि लागि मृत्यु भएका सनी खुनालाई शहिद घोषणा गर्नेबारे सरकारलाई सिफारिस गरिने, गोलि चलाउने प्रहरीलाई कारबाही गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र अशक्त घाइतेलाई राज्यले आजीवन सहयोग गर्ने सहमति भएको छ ।
आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । आन्दोलनका कारण विगत पाँच दिनयता यहाँको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द रहेका छन् ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले पनि शुक्रबारबाट प्रारम्भिक चरणको अनुसनधान थालिसकेको छ भने जिल्लामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख कुबेर कडायतले शान्तिपूर्ण वातावरण बनाएर बालिका हत्याको अनुसन्धान गर्ने वातावरण पहल गरिरहेका छन् ।
१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएकोबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान दुई दिदी बहिनी बबिता बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ ।
