काठमाडौँ:
प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक गर्दैछन्।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए।
यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने दाबी गरिएको छ।
आयोगको अध्यक्ष प्रधानमन्त्री ओली हुन्। उनले अध्यक्षको हैसियतमा बैठक बोलाएका हुन् ।
आयोगको बैठकले सम्बन्धन अघि बढाउने सम्भावना पनि बलियो रहेको स्रोतले जनाए पनि बैठकको एजेन्डाबारे आयोग पदाधिकारीले बताएका छैनन्।
यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो। उक्त समितिले बिएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको थियो।
आयोगका अनुसार बिएन्डसीले सम्बन्धनका लागि निवेदन दिएको छ।
‘आयोगले ऐन कानुन हेरेर सम्बन्धन दिने नदिने निर्णय गर्छ,’ आयोगका प्रवक्ता डिल्ली लुइँटेलले भने।
सम्बन्धनबारे निर्णय र सिट निर्धारण हुनुअघि आयोगको टोली पुन: बिएन्डसीमा अनुगमनमा जाने बताइएको छ।
‘सम्बन्धन अगाडि बढाउने निर्णय भयो र सिट संख्या तोक्नुपर्ने अवस्थामा आयोगको टोली अनुगमनमा जान्छ,’ लुइँटेलले भने।
विश्वविद्यालयको टोलीले बिएन्डसीको प्रारम्भिक रिपोर्ट दिँदा केही भौतिक पूर्वाधार तयार भएको र केही तयार नभएको उल्लेख गरेको छ। सो टोलीले दिएको प्रतिवेदन हामीले तल राखेका छौं।
चिकित्सा शिक्षा आयोगले बैठक बोलाइएपछि वरिष्ठ चिकित्सक गोविन्द केसीले ध्यानाकर्षण गराएका छन्।
बिएन्डसीबारे कुनै निर्णय नगर्न उनले आयोग पदाधिकारीलाई सम्झाएका छन् भने निर्णय भए प्रधानमन्त्री ओलीविरूद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन्।
