काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले चालु आव भन्दा ३ अर्ब आकार घटाएर बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ ३५ प्रतिशत अर्थात् १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पूँजीगततर्फ ५८ दशमलव २ प्रतिशत अर्थात् १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार विनियोजन गरिएको छ।
प्रदेश सरकारले कोरोनालगायतका अन्य महामारी नियन्त्रणलाई केन्द्रमा राखेर ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र बाहेक अन्य विषयगत मन्त्रालयसँग सम्बन्धित कार्यक्रमहरू अधिकांश पुरानै छन्। स्वास्थ्य र सामाजिक विकासतर्फ मात्रै कुल बजेटको झन्डै २० प्रतिशत अर्थात् ५ अर्ब ८८ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सम्पूर्ण प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप लगाउने दाबी बजेट वक्तव्यमार्फत गरेको छ।
कोरोनालगायतका अन्य महामारी नियन्त्रणका लागि ९० करोड विनियोजन गर्दै आगामी आर्थिक वर्षलाई अस्पताल स्तरोन्नति तथा स्वास्थ्य सेवा सुधार वर्षका रूपमा मनाउन २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले बताए।
प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने जनाएको छ। त्यसका लागि ५ करोड बजेट विनियोजन गरिएको छ।
