काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सूचक मापक नेप्से २.१३ प्रतिशत अर्थात ६३.२८ अंकले घटेको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भन्दै सूची सार्वजनिकसँगै घट्न थालेको नेप्सेमा आइतबार उच्च गिरावट आएका छ ।

आइतबार नेप्से ६३.२९ अंकले घटेर १९०५.१४ बिन्दुमा झरेको हो । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १२.६१ अंकले घटेर ५२८.५१ बिन्दुमा कारोबार बन्द भएको छ ।

कारोबारमा आएका १३ वटै समुहका सूचक राताम्मे बनेसँगै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो । असार १ गते साँझ बोर्डको विज्ञप्तीपछि बजार २ गते र ३ गते क्रमश ५२.४० र १.२९ अंकले ओरालो लागेको थियो ।

आइतबार सहित बोर्डको एक्सनले बजारमा पछिल्लो तीन कारोबार दिनमा मात्रै ११७ अंकको गिरावट देखिएको छ । छोटो समयमा नै बजार उच्च अंकले घटेकाले सोमबारदेखि लाभांश क्षमता राम्रा भर्ई शेयरमूल्य घटेका कम्पनीहरुमा उच्च खरीद चाप आउने आंकलन गरिएको छ ।

असार १ गते मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सूची सहित शेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको थियो । बोर्डको कदमले सूचकका साथै दिनप्रतिदिन कारोबार रकम पनि घटेको छ ।

आज कूल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर १ लाख २८ हजार २८१ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमा विकास बैंक, जलविद्युत र फाइनान्स समूहको सूचक ३ प्रतिशत धेरैले घटेको छ । यसैगरी ब्यापार, होटल, उत्पादन, अन्य, लघुवित्त र लगानी गरी ६ वटाको सूचक पनि २ प्रतिशत धेरैले घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version