काठमाडौँ:
दश दिनयता निरन्तर आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले प्रतिष्ठानभित्रको बेथितिबारे ‘एक्सन’ लिन कुलपति एवम् प्रधानमन्त्री गुहारेका छन्।

इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत् बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले स्वास्थ्य शिक्षा र उपचार केन्द्रको धरोहर बचाउन तत्कालै अग्रसरता देखाउन माग गरेका छन्।

गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, विशेषज्ञ चिकित्सकबाट बिरामीको उपचार गर्ने र अध्ययन अनुसन्धान गर्ने मुख्य उद्देश्य बोकेको बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रूपमा जर्जर बनेको उल्लेख गर्दै संयुक्त संघर्ष समितिले प्रतिष्ठानको कुलपतिको नाताले आवश्यक निर्देशन दिन माग गरेको छ।

‘प्रतिष्ठान यतिबेला जीवनमरणको दोसाँधमा छ’, ज्ञापनमा भनिएको छ ‘यहाँका समस्या समाधानका लागि निर्णायक पहलकदमी गर्नु तपाईंको दायित्व हो ।’

ज्ञापनमा प्रतिष्ठानभित्र दुईथरि समस्या देखिएको स्मरण गराउँदै अहिलेको प्रमुख समस्या भनेको शिक्षा र स्वास्थ्यमा भएको चरम राजनीतिकरण हो भनिएको छ । त्यस अन्तर्गत प्रतिष्ठानमा हुने पदाधिकारी नियुक्तिमा राम्रोभन्दा हाम्रो र ठूलो आर्थिक लेनदेन हुने कुरा किटान गरेर लेखिएको छ।

‘यसको दीर्घकालीन समाधानका लागि विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस कार्यदलले तयार पारेको प्रतिवेदन अनुरूप भएमा समस्या समाधान हुने हाम्रो विश्वास छ’ ज्ञापनमा भनिएको छ ।

त्यस्तै प्रतिष्ठानभित्र भएका र हुने गरेका संस्थागत अनियमितता र भ्रष्टाचार पनि अर्को समस्याका रूपमा रहेको ज्ञापनमा उल्लेख छ।

उपचार तथा अध्ययन अध्त्तयापनका लागि अत्यावश्यक उपकरण खरिदमा भएका अनियमितता र भ्रष्टाचारसम्बन्धी दर्जनौं मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा रहेको स्मरण गराउँदै ज्ञापनमा चिकित्साशास्त्रका विद्यार्थीको सिकाइ र जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा अनुसन्धानको निर्देशन दिन प्रधानमन्त्रीलाई माग गरिएको छ।

छानबिनपछि दोषी ठहर भएकालाई कारबाही गर्न र प्रतिष्ठानका पदाधिकारीदेखि विद्यार्थीसम्मलाई पारदर्शी, जवाफदेशी बनाउन पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ।

भ्रष्टाचारविरूद्ध बोलेको आरोपमा चिकित्सकहरूमाथि उपकुलपतिले स्पष्टीकरणलगायतका कारबाही थालेपछि धरानमा आन्दोलन चर्किएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version