काठमाडौँ: युइएफए युरो २०२० मा शनिबारदेखि नकआउट चरणका खेल हुँदैछन्। शनिबार हुने दुई वटा खेलमा वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटालीबीच खेल हुँदैछ।

नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९:४५ बजे वेल्स र डेनमार्कबीच पहिलो खेल हुँदेछ।

समूह चरणमा वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्ड्ससँग बराबरी खेलेको थियो। दोस्रो खेलमा टर्कीलाई पराजित गरेको वेल्स अन्तिम खेलमा इटालीसँग पराजित हुनुका बावजुद अन्तिम १६ मा पुग्यो।

डेनमार्कले समूह चरणमा सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो। अन्तिम खेलमा रसियालाई ४-१ गोलले पराजित गरेसँगै डेनमार्कको अन्तिम १६ मा स्थान पक्का भएको थियो।

दुवै टिमले समूह चरणको कठिन परीक्षा पार गरिसकेका छन्। वेल्सले कठिन समूह पार गर्दा डेनमार्कले सुरुवाती दुईलाई बिर्साउने गरी तेस्रो खेलमा जित निकाल्यो। पहिलो खेलमा मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्कलाई मनोवैज्ञानिक रुपमा असर गरेको थियो।

दुवै टिमका लागि अब अन्तिम आठमा पुग्नका लागि ठूलो अवसर अघि आएको छ।

राति १२:४५ हुने दोस्रो खेलमा इटाली र अस्ट्रियाबीच लन्डनमा प्रतिस्पर्धा हुनेछ। इटालीले अस्ट्रियाविरुद्ध खेलका पछिल्ला १३ खेलमा हार बोहोरेको छैन।

जारी प्रतियोगितामा समूहका तीनै खेलमा जित हात पारेको इटालीले एक गोल पनि खाएको छैन। यो बाहेक इटालीले पछिल्ला ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित छ।

पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले इतिहास बनाइसकेको छ। यसअघि दुई पटक युरो कप खेल्दा अस्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो। दुई संस्करणमा खेल्दा अस्ट्रियाले कुनै खेलमा जित हात पार्न सकेको थिएन। यसपटक दुई जित हात पार्दै उसले इतिहास कोरेको थियो।

पछिल्ला ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित इटाली उच्च फर्ममा छ। उसले पछिल्ला ११ खेलमा लगातार जित निकलेको थियो। ती ११ वटै खेलमा इटालीले गोल पनि खाएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version