काठमाडौँ: साताको पहिलो कारोबार दिन देखिएको नेप्से सूचक र कारोबार रकमको गिरावटले साताको दोस्रो दिन पनि निरन्तरता पाएको छ। अर्थात, यस दिन पनि नेप्से र कारोबार रकम दुबै घटेको छ।

सोमबार नेप्से परिसूचक ११.७८ अंक घटेर २८२२.७३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०४ अंक, फ्लोट इण्डेक्स १.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको छ। यस दिन २२४ कम्पनीको ५२ हजार ८४६ पटकको कारोबारमा ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

पछिल्लो समय असार मसान्तको प्रभाव शेयरबजारमा देखिएको छ। मसान्त नजिकिएसँगै सबैतिर क्लोजिङ्गको प्रेसर बढेका कारण कारोबार रकमका साथै नेप्से सूचकमा पनि ह्रास आएको जानकारहरु बताउँछन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.६१ प्रतिशत बढेको छ। बाँकी उपसमूहका वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

सोमबार वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६१ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंकको २.३७ प्रतिशत, जलविद्युतको १.८९ प्रतिशत, होटल तथा पर्यटनको १.५८ प्रतिशत र निर्जीवन बीमाको १.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशीको १९ करोडको शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिन विशाल बजार कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यस दिन ५३४ रुपैयाँ बढेर ५ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य ८ प्रतिशत बढेको छ।

यता कारोबारमा आएको गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version