काठमाडौँ: क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

गत फेब्रुअरीमा मोइसेको कार्यकाल सकिइसकेको तर उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै हजारौं मानिसले सडकमा प्रदर्शन गरेका थिए।

केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए।

उनको हत्या कसले गर्‍यो भन्ने खुलिसकेको छैन। बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version