काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से यस साता १७.९० अंकले घटेको छ ।
नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १० अर्ब ९० करोड रुपैयाँले घटेको छ ।
यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१० अंकमा बन्द भएको छ ।
अघिल्लो साताको तुलनामा यस साता शेयर कारोबार रकम घटेको छ । गत साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएकोमा यस साता १० अर्ब बढीले खुम्चिएर २३ अर्ब २६ करोडमा सीमित भएको हो ।
यस साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो भने साताको अन्तिम कारोबार दिन बिहीबार ४ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । यसबीचमा सोमबार ४ अर्ब ५८ करोड, मंगलबार ४ अर्ब २२ करोड र बुधबार ५ अर्ब ५८ करोडको शेयर कारोबार भयो ।
यो साता आइतबार नेप्से ८.४८ अंक, सोमबार ११.७८, मंगलबार ५.२४ अंक र बुधबार १६.९७ अंकले घट्यो भने अन्तिम दिन बिहीबार २३.९७ अंकले बढेको छ ।
