काठमाडौँ:
भारतबाहेक दक्षिण एसियाली राष्ट्र र चीन सहभागी नयाँ संगठन औपचारिक रूपमा स्थापना गरिएको छ।
बिहीबार चीनको चोङचिङ सहरमा चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र औपचारिक रूपमा स्थापना भएको हो।
स्थापनाको औपचारिक समारोहमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओ र चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेश राजदूतले सम्बोधन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ।
गत अप्रिलमा कोभिड १९ को विषयमा दक्षिण एसिायली विभिन्न देशका विदेशमन्त्रीसँग छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए। जसमा अन्य देशले समर्थन जनाएका थिए।
अन्तरक्रियामा आमन्त्रण गरिएको भए पनि भारत सहभागी नभएको चीनले जनाएको थियो। अन्तरक्रियामा भुटान र माल्दिभ्सको पनि सहभागिता थिएन। चीनसँग भुटानको कूटनीति सम्बन्ध छैन।
सेन्टर स्थापनाको उद्देश्यमा गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास तथा जनजीविका सुधारका लागि ज्ञान आदानप्रदान गर्ने छन्।
कार्यक्रममा सहायक विदेशमन्त्री वुले चिनियाँ कम्युरनिस्ट पार्टीका महासचिव सी चिनफिङले शतवार्षिकी समारोहमा चीनको निरपेक्ष गरिबीमा रहेका बारेमा ल्याएको ऐतिहासिक प्रस्ताव चीन र चिनियाँ जनताका लागि मात्रै नभएर गरिबी नियन्त्रण गर्न महत्त्वपूर्ण अंश भएको जनाएको छ।
कार्यक्रममा चोङचिङका उप मेयर काई युङले सेन्टरको स्थापनाले चीन र दक्षिण एशियाबीच मित्रवत सहकार्यको नयाँ मञ्च र नयाँ उत्पादन भएको बताएका छन्।
गरिबी निवारण सेन्टर स्थापना अवसरमा चीनले दक्षिण एसिया राष्ट्र आपतकालीन आपूर्ति रिजर्भ, गाउँले गरिबी निवारणका लागि चीन र दक्षिण एसियाली देशको इ कमर्स फोरम स्थापना गर्ने पनि घोषणा गरेको थियो।
