काठमाडौँ: नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ ।

शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो ।

बैठकपछि काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

भाद्र १६–१९ गते हुने भनिएको महाधिवेशनको अन्य कार्यतालिका भने कायमै रहेको स्पष्ट पार्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, “साउन १२ गते सुरु हुने भनेर निर्धारण गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने छलफल भएको छ । तर महाधिवेशनको अन्य कार्यतालिका भने कायमै छ । साउन १२ गते मंगलबार बिहान पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापतिलाई आफ्नो प्रतिवेदन बुझाएपछि त्यसलाई अध्ययन गरेर पार्टीको केन्द्रीय कार्य समितिले वडा तहको अधिवेशनको मिति तय गर्नेछौँ ।”

यसअघि वडा अधिवेशन १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरेको थियो ।

यस्तै प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा गर्ने काँग्रेसको निर्णय थियो । तर समयमा क्रियाशील सदस्यता टुंग्याउन नसक्दा तल्लो तहको कार्यतालिका प्रभावित हुने भएपछि कार्यतालिका परिमार्जन गरिने सहमति भएको हो ।

बैठकमा निर्वाचन समितिको निर्देशिका तयार गर्ने सहमति भएको छ । यस्तै क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार विहान ९ बजे सभापति देउवालाई प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

असार २० गते बुझाउने गरी कार्यतालिका बनाएपनि मंगलबार मात्र बुझाउँदै छ । त्यतिबेलासम्म क्रियाशील सदस्यताको विवादका विषयमा पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनशन मिलाउने लेखकको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version