काठमाडौं: अवैध सुनको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतको राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठेगाना भएका २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन्।

उनीहरु आज बिहान १० वजे काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामगंलस्थित मिचेया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट पक्राउ परेका हुन्। कोठामा खानतलासी गर्दा कालो रङको सुटकेश भित्रबाट सिल्भर रंगको पोलिस गरिएको सुन प्रहरीले फेला पारेको थियो।

सो सुटकेशबाट प्रहरीले सुनको रोल ८ थान, सुनको टुक्रा २ थान, सुनको बिस्कुट आकारको पाता १ थान गरी १ किलो ८६६ ग्रामको सुन बरामद गरेका छ। सिल्भर रंगको पोलिस गरिएको धातु घोटेर हेर्दा सुन भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट १ लाख ५ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

उनीहरुले वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाएर तथा स्वरुप समेत परिवर्तन गरेर भन्सार छली ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी साकिर अली लगायतका व्यक्तिहरुले विभिन्न देशबाट भन्सार छली अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाडौं ल्याएर कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो अपरेशन चलाएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version