काठमाडौँ: विकास बैंक, फाइनान्स, बैंकिङ सेक्टरमा बहार छाएसँगै मंगलबार धितोपत्रको कुल बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा अर्थात ४४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठूलो आकार हो ।

यसअघि साउन २० गते बुधबार नेप्से १२.०५ अंकले उकालो लाग्दा समग्र बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब ४७ लाख रुपैयाँ पुग्दै समग्र बजार पूँजीकरणमा रेकर्ड कायम भएको थियो । उक्त मितिभन्दा मंगलबार ४३ अर्ब ६९ करोड धेरै पूँजीकरण पुगेको हो ।

विसं २०७७ साउनमा कुल बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । शेयर बजारमा भएको उच्च वृद्धिका कारण २०७७ साउनदेखि २०७८ साउन २६ गतेसम्म लगानीकर्ताको सम्पत्ति २६ खर्ब २१ अर्ब रुपैयाँ बढेको छ । यसरी कुल बजार पुँजीकरण एकै वर्षमा १४६.२६ प्रतिशत वृद्धि भएको छ ।

शेयर मूल्यमा भएको वृद्धिका कारण गएको एक आर्थिक वर्षमा लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले शेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।

नेप्सेका अनुसार आज (साउन २६ गते मंगलबार) कुल बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब १८ करोड ०३ लाख रुपैयाँ पुगेको छ । लाभांश सिजनले वाणिज्य बैंकको शेयरमूल्य आएको वृद्धिसँगै शेयर बजारको पूँजीकरणको आकार पनि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको हो ।

बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

मंगलबार मात्र शेयर बजार सूचक नेप्से ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । नेप्से उकालो लाग्दा मंगलबार मात्रै बजार पूँजीकरण ७३ अर्ब ०४ करोड ५४ लाख रुपैयाँले बढेको हो । सोमबार ४३ खर्ब ४० करोड १३ करोड ४९ लाख रहेको थियो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोनसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ ।

जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । शेयर बजारमा आएको आईपीओको बाढीले नयाँ कम्पनीहरुको साधारण शेयरका कारण सूचीकृत कम्पनीको संख्या थपिएको छ भने यस अवधिमा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने दिनप्रतिदिन आकर्षण बढिरहेको छ । पुरानासँगै ठूलो संख्यामा नयाँ लगानीकर्ताको बजार प्रवेशले नेप्से सूचकको निरन्तरको वृद्धि टिकेको छ ।

त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको र गत आवको समाप्तीसँगै बैंकिङ्ग प्रणालीमा असारे विकासले बढाएको निक्षेपले तरलता प्रयाप्त भएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version