काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।

१४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ। १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ।

स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन्।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन। यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका थिए।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्। तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन।

आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version