काठमाडौँ:
निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई दल दर्ता निवेदनमा सनाखत गर्न बुधबार बोलाएको छ।
नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नामको दल दर्ताको निवेदन दिएको छ।
यस्तै ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताको निवेदन आयोगमा दिएका छन्।
नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्य छन्। यस्तै ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ।
दल दर्ताका लागि निवेदनमा नाम भएका सदस्यहरुको सनाखतका लागि बुधबार विहान ११ बजे आयोगले बोलाएको हो।
‘हाम्रो दललाई सनाखतको लागि बुधबार बिहान ११ बजे आयोगमा बोलाइएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य केशव झाले नेपालखबरसँग भने।
सरकारले मंगलबार नेपाल पक्ष र ठाकुर पक्षलाई दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी नेपाल (जसपा) विभाजन गर्नेगरी नयाँ दल दर्ता भएका हुन्।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार सनाखतका लागि केन्द्रीय सदस्यहरुलाई नागरिकता वा मतदाता परिचय पत्र र सांसदहरुलाई संसद् सचिवालयबाट जारी गरिएकाे परिचय पत्रसहित अनिवार्य रुपमा व्यक्ति स्वयं उपस्थित हुन आयाेगकाे सचिवालयले पत्राचार गरिसकेकाे छ।
अब बुधबार सनाखतपछि मात्र नयाँ दलले मान्यता पाउने नपाउने निर्णय हुने उनले बताए।
सनाखत गरेपछि त्यही दिन आयोगले दल दर्ताको प्रमाणपत्र दिन पनि सक्ने उनको भनाइ छ।
शुक्रबार नेपाल पक्षले बाँकी रहेका कागजात पनि आयोगमा बुझाइसकेको छ। यस्तै महन्थ पक्षले पनि सबै कागजात बुझाएको जनाएको छ।
यसअघि नेकपा एमाले समाजवादी र जनता समाजवादी लोकतान्त्रिक नाममा दल दर्ताको निवेदन दिएका नेपाल र ठाकुर पक्षले ती नाम दिन नमिल्ने सर्वाेचको फैसला र आयोगको नजिर अनुसार नाम परिवर्तन गरेर नयाँ नाम दिएपछि सनाखत प्रक्रिया अघि बढाइएको हो।
