काठमाडौँ: नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधानतर्फ पुर्‍याएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन्।

केन्द्रीय सदस्य लेखकले क्रियाशीलसम्बन्धी विवाद अब टुंगिएको सेतोपाटीलाई बताए। ‘विवाद टुंगिएका छन्। आज अपरान्ह ५ बजेतिर सभापति देउवालाई प्रतिवेदन बुझाउँछौं,’ उनले भने।

बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो। समग्रमा एक सय वडामा क्रियाशील सदस्यताका विवाद थिए। नेताहरूकै तवरबाट क्रियाशीलको विवाद टुंग्याइएकोले अब समस्या नदेखिने लेखक बताउँछन्।

कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर करिब ४० दिन काम गर्दै पाँच हजार उजुरीमाथि छानबिन गरेको थियो। ९६ प्रतिशत काम सकेर बाँकी काम शीर्ष नेतृत्वबाट गर्ने गरी साउन १२ मा लेखक नेतृत्वको समितिले प्रतिवेदन बुझाएको थियो।

कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया सुरू हुनेछ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version