काठमाडौँ:
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताएका छन्।
सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए। उनले यदी पार्टी एकता गर्ने ओलीको इमान्दार चाहना हो भने नेकपा एकीकृत समाजवादी दर्ता भएको भोलिपल्ट वार्ता गर्नुपर्ने बताए।
‘हामी निर्णायक मोडमा पुग्दा हाम्रै भनिएका साथीहरूले दुई दिन रोकौँ भन्दै हामीलाई पछि पार्दै गए,’ सम्बोधनका क्रममा नेपालले भने, ‘यसपाली पनि उनीहरु ओलीको जालझेलमा फसेका छन्, उनीहरुका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई दिनमै देखिन्छ।’
उनले समाजवादी दर्ता भएको भोलिपल्टेदेखि पार्टी एकताबारे छलफल भएर आफ्ना कुरा मान्न ओली मन्जुर भए आफूहरु एमालेकै नेता बनेर हिँड्न तयार भएको बताए।
‘तर अहिले हाम्रो पार्टीको दर्ता रोक्नमात्रै यो चालबाजी भइरहेको छ,’ नेपालले भने।
नेपालसहित केन्द्रीय सदस्य र सांसदहरु सोमबार साँझ पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधबार बोलाएको र मंगलबार एमालेले स्थायी कमिटी बैठक राखेको सन्दर्भलाई समेत हेरर उनीहरु चन्द्रागिरी पुगेका हुन्।
मंगलबार पार्टीको विधान र राजनीतिक दस्तावेजबारे छलफल हुने र सकेसम्म मंगलबार साँझ नभए बुधबार विहान फर्किने नेता रामकुमारी झाँक्रीले बताइन्। उनका अनुसार राजनीतिक दस्तावेज र अन्तरिम विधान नेताहरूलाई सोमबारै वितरण गरिनेछ।
