काठमाडौँ: धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्टको शेयर किनेको विषयमा छानबिन गर्नका लागि सरकारले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्री परिषदको बैठकले बोर्ड अध्यक्षले गरेका गलत कामहरुका सम्बन्धमा छनबिन गर्नका लागि उच्च अदालतका पुर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष ढुङ्गानाले नैतिकताका साथै नियम विपरित बोर्डको नियमनमा आउन लागेको कम्पनीको शेयरमा गरेको लगानीका सम्बन्धमा छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको हो । यस अघि अर्थ मन्त्रालयले कानुन विभागका पारश्वर ढुङ्गाना सहित ५ सदस्यीय समिति गठन गरेको थियो ।

बोर्डका अध्यक्ष माथि अनुसन्धान गर्नका लागि पुर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले सरकारले अर्को समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सह-सचिव अर्जुन कुमार खड्कालाई जिम्मेवारी तोकेको छ ।

कानुनी छिद्रलाई खेलेर बोर्ड अध्यक्ष ढुङ्गानाले परिवारका सदस्यको नाममा झण्डै २७ हजार कित्ता शेयर खरिद गरेको यस अघिको समितिले औंल्याइ सकेको छ । यस सम्बन्धमा बोर्ड अध्यक्ष ढुङ्गानाले पुर्वन्यायाधीश नेतृत्वमा समिति गठन नभएसम्म आफुले अध्यक्ष पदबाट राजीनामा नदिने बताउँदै आएका थिए ।

बोर्ड अध्यक्ष ढुङ्गानाले माग गरे अनुसारको समिति गठन गर्ने निर्णयमा सरकार पुगेपछि अब ढुङ्गानाले के गर्छन् भन्ने चासो आम लगानीकर्तामा परेको छ । यस अघि नै बोर्डको सञ्चालक पदबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्वाहीमा पर्ने आधार देखे पछि बोर्ड सञ्चालकको पदबाट राजीनामा गरिसकेका छन् ।

उता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि अनुसन्धान प्रकृयालाई सघाउन भन्दै पदबाट राजीनामा दिइसकेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version