काठमाडौँ: बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से, यस दिन झिनो अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।
यस दिन कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको थियो। यस दिन बजारमा देखिएको झिनो सुधारलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका गरिएको छ। यस दिन भोल्युमले साथ नदिएका कारण बजारको वृद्धि कमजोर मानिएको उनीहरुको भनाइ छ।
यस दिन नेप्से बढेपनि भोल्युम भने घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्बको शेयर कारोबार भएको छ। यस दिन २२६ कम्पनीको १ लाख ४ हजार ३४२ पटकको कारोबारमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ०.४४ प्रतिशत, बैंकिङ्गको ०.४ प्रतिशत र लगानीको ०.०१ प्रतिशत बढेको छ।
ओरालो लागेका उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७५ प्रतिशत घटेको छ। अन्य उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
