काठमाडौँ : सडकका खाल्डाखुल्डी मर्मतसहित विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नभएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन समेत निर्देशन दिएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सो कार्यालयले हिजो मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाएको जनाएको छ । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको सो सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ ।
अनुगमनका क्रममा विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धताअनुसार नभएको पाइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा नयाँ पोल गाडिएको भेटिएको छ । त्यस्तै निर्माण सामग्री यत्रतत्र छरिएर राखिएको अवस्थामा पाइएको थियो ।
कलङ्की नागढुङ्गा सडक खण्डको केही क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको घर, टहरा हटाउन र सडक विस्तारको सीमाङ्कनको टुङ्गो नलाग्दा सडक विस्तारको काम बाँकी छ । महाशक्ति पेट्रोल पम्पदेखि मंगलोदय माध्यामिक विद्यालय थानकोटसम्मको सडकमा पोल सार्न र सडक अतिक्रमण गरी बनाइएको घर हटाउन पनि बाँकी छ ।
त्रिभुवन पार्क थानकोटको ओरालोमा बढी खाल्डाखुल्डी भएको पाइएको छ । उक्त क्षेत्रमा सडक छेउका पर्खालको निर्माण सम्पन्न भइसकेको छ । तर बिजुलीको पोल नहटाउँदा सडक विस्तार गर्न सकिएको छैन ।
