काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन सुरु भइसकेको छ । अहिले मतदाता नामावली प्रकाशित गर्ने काम भइरहेको छ ।’

२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । यद्यपि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन बहिस्कार गरेको छ ।

मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् । मल्लसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ ।

जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताए । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ ।

उनले भने, ‘जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव उहाँले स्वीकार गर्नुभएन । तर वडाको नेता कार्यकर्ता अधिवेशनको प्रक्रियामा आइसक्नुभएको छ । सबैले चुनाव चाहनु भएको छ ।’

जिल्ला सभापति बाहेक डडेल्धुराका नेता कार्यकर्ता विवाद गर्ने पक्षमा नरहेको साउनले बताए । ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्लामा कसैले विवाद गर्ने चाहँदैन । तर जिल्ला सभापतिजीले किन गर्न चाहनुभयो थाहा छैन ? उहाँलाई नै थाहा होला,’ उनी भन्छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version