काठमाडौँ: नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिवेशन अस्वीकार्य गर्ने निस्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बलपूर्वक प्रशासनको दूरुपयोग गरेर गरिएको वडा अधिवेशन अमान्य भएको बताए । पौडेल समूहले जारी गरेको विज्ञप्तिमा डडेल्धुरा वडा अधिवेशन बलपूर्वक गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
पार्टीको जिल्ला कार्य समितिले वडा अधिवेशन नगर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गराएका थिए । जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।
वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई भेटेरै वडा अधिवेशन रोक्न माग गरेको थियो । तर, प्रहरीको परिचालन गरी वडा अधिवेशन सम्पन्न गरिएको थियो । सो अधिवेशनलाई मान्यता नदिइ पुनः अधिवेशन गराउन पौडेल समूहले माग गरेको छ ।
