काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरू (विद्यालय) लाई भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको छ।

पठनपाठन गराउनै परेमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने भनिएको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको सूचनामा असोज १ देखि अर्को आदेश जारी नभएसम्मका लागि लागु भएको उल्लेख छ।

यस्ता छन् काठमाडौं प्रशासनले गरेको निर्णय :

– शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने गर्नुपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिङ-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने।

– कोभिड-१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने।

– यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाउने।

– सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक/पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र गर्न पाउने।

– स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४.०० बजे देखि ७:०० बजेसम्म गर्न नपाउने।

– सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने।

-कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/गराउने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version