काठमाडौँ: राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा झण्डै २५ अर्बको माग दाबी गरी ४ सय बढी कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने ३१७ जना विरुद्ध १९ अर्व ८१ करोड र विदेशी विनिमय गर्ने व्यक्ति तथा फर्महरु विरुद्ध ४ अर्व ९४ करोड रुपैयाँ माग गरि मुद्धा दायर गरेको विभागका महानिर्देशक राम प्रसाद आचार्यले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागका अनुसार गत वर्ष मात्र राजस्व चुहावट तर्फ १ हजार ७३४ जना विरुद्ध उजुरी परेको थियो । जसमा १ हजार १०१ मुद्धा फर्छौट भएका छन् भने ६३३ मुद्धा चालु अवस्थामा रहेको विभागले जनाएको छ । उजुरी परेका मध्य ३१७ जना विरुद्ध १९ अर्व ८१ करोड माग दावी गरी मुद्धा दायर गरिएको हो ।

विभागका महानिर्देशक आचार्यले राजस्व छली तथा आर्थिक अपराधमा जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाई केन्द्रित गरिएबाट राजस्व प्रशासन र संकलनमा सकारात्मक सुधार आएको बताए । राजस्व चुहावट बहुआयामीक विषय भएको हुँदा यसको नियन्त्रणमा सबै पक्ष, क्षेत्रको सामुहिक प्रयास र प्रतिवद्धता आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी एक वर्षको अवधिमा विभागमा विदेशी विनिमय तर्फ २५१ उजुरी परेको छ । जसमा ६७ मुद्धा फर्छौट भएका छन् भने १८४ मुद्धा चालु अवस्थामा रहेका छन् । विभागले उजुरी परेका मध्य ११४ जना विरुद्ध ४ अर्व ९४ करोड रुपैयाँ माग गरि मुद्धा दायर गरेको थियो ।

‘कोभिड १९ को महामारीका बाबजुत आर्थिक वर्ष २०७७/७८ मा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय गर्ने व्यक्ति तथा फर्महरुको अनुसन्धान तहकीकात र अभियोजनामा थप तिब्रता दिइएको र भन्सार चोरी पैठारी निकासी नियन्त्रणमा पनि ठुलो सफलता प्राप्त भएको छ’ महानिर्देशक आचार्यले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version