काठमाडौँ:
नेपालले महामारी, आतङ्कवाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ।
‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुल समाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएका बताएको हो।
बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्र सङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवद्र्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गरे।
सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरण गर्नुपर्ने बेला आएको बताउँदै उनले सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।
‘हामीले सेवा गर्ने जनता र बस्ने पृथ्वीका लागि हामीले हाम्रो कर्तव्य गर्नैपर्छ’, नयाँ शिराबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दाका खातिर आफ्नो कर्तव्यबाट विमुख नभई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खड्काले भने।
नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ सिद्धान्तअनुसार बनेको, राष्ट्र सङ्घको वडापत्रका उद्देश्य र सिद्धात, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएका उनले बताए। रासस
