काठमाडौँ:
नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त जोगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

काठमाडौंको कोटेश्वरमा बुधबार पार्टीको वडा तहमा निर्वाचित उम्मेदवारका लागि आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाइ राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन्।

‘नेपाली कांग्रेस सधैँ जनताका लागि काम गर्दै आइरहेको छ। तर, वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन्,’ उनले भने, ‘यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ। पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ।’

अरु क्षेत्रमा जस्तै निश्चित समयपछि ‘रिटायरमेन्ट’ हुनुपर्ने परिपाटी नभएर आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरुको कार्यशैलीले जनतामा निराशा छाएको सिंहको भनाइ थियो।
बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरुले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको भन्दै उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘रिटायरमेन्ट’ लिनुपर्नेमा जोड दिए।

नेता सिंहले पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै आफूहरुले त्यसो हुन नदिने बताए। पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पारेको उनको भनाइ थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version