काठमाडौँ:
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकले संसदमा रहेको गतिरोध खोल्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेको छ।

बालुवाटारमा करिब दुई घण्टा चलेको उक्त बैठक संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘हाम्रो अहिलेको ध्येय भनेको संसदलाई निर्वाध रुपमा अघि बढाउने मात्रै हो। हामीले त्यहीबारे सोचेका छौँ’, कार्कीले भने, ‘यो बैठकले पनि संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि एमालेलाई आग्रह गरेको छ। गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अग्रसरता लिनु भएको छ।’

कार्कीले त्यही अनुसार आज सर्वदलीय बैठक बोलाइएको बताउँदै तर एमालेको अनुपस्थितिले ठोस निष्कर्ष निकाल्न नसकिएको पनि बताएका छन्।

‘बैठकमा केपी शर्मा ओलीलाई पनि बोलाइएको हो। तर उहाँहरुले आउने नआउने केही जानकारी दिनु भएन’, उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सबै दल उपस्थित भए तर प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भयो। अहिले संघीय संसदको बैठक आवश्यक छ। अन्योल चिर्न जरुरी छ।’

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने सुझाव दिएका थिए।

अन्य नेताहरुले पनि संसदको गतिरोध अन्त्यका लागि सरकारले संवाद तीव्र पार्न सुझाव दिएका थिए। यसअघि सभामुखले डाकेको सर्वदलीय बैठकमा पनि एमालेसँग संवाद गर्ने भनिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version