काठमाडौँ: नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेका छन्।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा आफूहरू दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले जानकारी दिए। कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन  नयाँदिल्लीमा रहनेछन्।

चौरासियाका अनुसार असोज २५ मा स्वदेश फर्किने कार्यक्रम छ। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ।

दिल्लीमा रहँदा क-कसलाई भेट गर्ने भन्ने एकिन भइनसकेको चौरासियाले बताए। सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

उनी गत भदौमा नेपाल आएका थिए। त्यसबेला उनी पाँच दिन नेपाल बस्दा जसपाबाहेक अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

गत असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसका नेताहरू पहिलो पटक नयाँदिल्ली जान लागेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version