काठमाडौँ:
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुन: अदालतको अनुमति लिइन्छ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए।

ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ।

‘अनुसन्धान गर्दै जाँदा अन्य कसुर देखिन आए मुद्दाको प्रकृतिअनुसार थप थुनामा राख्ने/नराख्ने टुंगो हुन्छ,’ महतोले भने। प्रहरी अनुसन्धान नसकिने भएकाले तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम छ।

तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन्। सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन्। उनी पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने छन्। उनीहरू सहकारीको विभिन्न पदमा कार्यरत् कर्मचारी हुन्।

सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए। उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन्।

ती कम्पनीले सहकारीमा ऋण तिरेको छैन। निक्षेप माग्न जाँदा नपाएपछि बचतकर्ताहरू प्रहरीमा पुगेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version