काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन्।

सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्ले विश्वासको मत लिन लागेकी हुन्।

बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ। कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो। हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन्।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन्। त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन।

बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन्। एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमती भइसकेको छ।

पार्टीभित्रको विवादमा माधव नेपालाई साथ दिँदै आएकी शाक्यलाई पार्टी विभाज हुँदा नेपाल पक्षमा लाग्नबाट रोक्न एमाले अध्यक्ष केपी ओली खेमाले हतारहतार मुख्यन्त्री नियुक्त गरेको थियो। गएको २ भदौमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version