काठमाडौं: धितोपत्र दलाल ब्यवसायी अर्थात सेयर ब्रोकरहरुलाई नेपाल राष्ट्र बैंकले सेयर दलालहरुलाई मार्जिन लेण्डिङको सुबिधा दिन लागेको छ ।
यसो भएमा अव उपरान्त सेयर खरिद गर्ने ब्यक्ति वा संस्थालाई सेयर खरिदका सेयर दलालले ऋण दिन पाउने छन् । तर यसअघि धितोपत्र बोर्डले ब्रोकरहरुलाई मार्जिन ट्रेडिङको सुविधा मात्रै दिने ब्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रबक्ता नारयण पौडेलका अनुसार ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने नीतिगत ब्यवस्था गर्न लागिएको छ ।
यता राष्ट्र बैंक नियमानुसार भने कुनै कम्पनी, फर्म, संस्था वा निकायले निक्षेप संकलन गर्न वा ऋण दिनको लागि राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुन्छ ।
‘ब्रोकरले सेयर किन्न ऋण दिन पाउने बाटो खुल्ला गर्ने निर्णय भएको छ, अब प्रक्रिया अनुसार अनुमति लिन चाहने ब्रोकरले लाइसेन्स लिएर यो काम गर्न सक्छन्,’ प्रवक्ता पौडेलले भने ।
सेयर किन्न ऋण दिन चाहने ब्रोकरले आफ्नो प्रवन्धपत्र तथा नियमावलीमा सो सम्बन्धि ब्यवस्था गर्नुपर्ने हुन्छ । त्यसपछि धितोपत्र बोर्डले ब्यवस्था गरे अनुसारको प्रक्रिया पूरा गर्नुपर्छ । यसका अतिरिक्त राष्ट्र बैंकले तोकेको विधि र प्रक्रिया अनुसारको निवेदन राष्ट्र बैंकमा दिनुपर्ने हुन्छ ।
यसरी निवेदन प्राप्त भएपछि राष्ट्र बैंकले आवश्यक अध्ययन गरेर ब्रोकरलाई मार्जिन लेण्डिङको लाइसेन्स दिनेछ । राष्ट्र बैंकबाट यस्तो लाइसेन्स पाए पछि ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने छन् ।
