काठमाडौँ: लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ बीच नेपालमा विदेशी लगानी आकर्षित गर्न संयुक्त रुपमा लगानी प्रवर्द्धनको कार्य गर्न दुई निकायवीच समझदारी भएको छ।

महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा आज सम्पन्न तेस्रो बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले सो सम्बन्धमा प्रतिवद्दता व्यक्त गरेका हुन्।

“नेपालमा गुणस्तरीय लगानी भित्र्याई नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षालाई संयुक्त रुपमा पुरा गर्ने दायित्व नेपाल सरकार र निजी क्षेत्रको हो । यसका लागि लगानी बोर्ड कार्यालय निजी क्षेत्रसँग सहकार्य र समझदारी गर्न तयार छ,“ बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले भने।

उनले लगानी बोर्ड नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका सम्बन्धमा निजीक्षेत्रसँग सहकार्य गरी सक्रिय रुपले अघि बढिरहेको बताए। यसै गरी लगानीको क्षेत्रलाई समेत विविधिकरण गर्नुपर्ने बताउँदै उनले भने, “हामीसँग लगानीका सम्भावनाका क्षेत्रहरु धेरै छन् र लगानीकर्तालाई समेत हाम्रा विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । यसका लागि लगानी बोर्ड र निजी क्षेत्रले संयुक्त रुपमा कार्य गर्नुपर्ने छ ।“

प्रमुख कार्यकारी अधिकृत भट्टले कुनै पनि परियोजनालाई अघि बढाउँदा सर्वप्रथम त्यस्ता परियोजनाको विभिन्न पक्षको बारेमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिए । “परियोजनको प्राविधिक, वातावरणीय तथा वित्तीय अवस्थाको गहिरो अध्ययन नभएमा कुनै पनि परियोजना अघि बढ्न सक्दैनन्,’ भट्टले भने।

बैठकमा महासंघका अध्यक्ष गोल्छाले स्वदेशी तथा विदेशी निजी लगानीकर्तासँग छलफल तथा समन्वय गर्न महासंघ एउटा जिम्मेवार र सक्षम निकाय भएको बताए। उनले नेपालमा लगानी आकर्षित गर्न विदेशी लगानीकर्ताहरु समक्ष पुग्न लगानी बोर्ड र महासंघले संयुक्त रुपमा कार्य गर्नुपर्नेमा जोड दिए ।

“हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै सक्रिय संजाल उपलब्ध छ । उक्त संजालको उपयोग गरी हामी लगानीकर्तासमक्ष सजिलै पुग्न सक्छौं र नेपालमा लगानी भित्राउन सक्छौं,“ गोल्छाले भने।

बैठकमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले नेपालमा लगानीको प्रतिवद्धता र प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै यस सम्बन्धमा थप अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत तथा अन्य सुधारका कार्यहरुमा मन्त्रालय सधैं प्रतिवद्ध रहेको बताए।

बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन समितिका अध्यक्ष आनन्द बगारिया, लगानी बोर्डका उप सचिव रमेश अधिकारी लगायतले नेपालमा लगानी बृद्धि गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version