काठमाडौँ:
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।
यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ ।
आजको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारे । उनले भने, ‘माधव नेपालीले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नुभएको हो । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । आफ्ना अनुभवलाई आदानप्रदान गरेर नयाँ दिशा दिने प्रयासमा छौं । नयाँ सम्भावनाको खोजी गर्न कुरा चलिनै रहन्छ ।’
