काठमाडौँ, १९ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।
नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल संवत्लाई प्रवद्र्धन र प्रयोगमा ल्याउन आवश्यक ः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवद्र्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले आजको दिनले नेपाल संवत्को प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उहाँले स्मरण गर्नुभएको छ ।
