काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू राजीनामा कुनै हालतमा नदिने, संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताएका छन् ।
काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले आफू न्यायाधीशहरू र नेपाल बारको मागअनुसार राजीनामा दिने पक्षमा नरहेको संकेत गरेका हुन् ।
अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको उल्लेख गरे । ‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ,’ प्रधानन्यायाधीश जबराको कुरा उल्लेख गर्दै अर्यालले भने, ‘न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु भन्ने उहाँको कुरा थियो ।’
प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।
न्यायपालिकालाई नियमित रूपमा सञ्चालन गर्नका लागि आफूले जे गर्नुपर्ने हो त्यो गर्ने भनेको अधिवक्ता बसन्त बस्नेतले बताए । न्यायपालिकामा देखिएका विकृति र विसंगति अन्त्यका लागि कानुनबमोजिम जे-जे गर्नुपर्ने हो ती कार्य गर्ने प्रतिबद्धता प्रधानन्यायाधीशले व्यक्त गरेको बस्नेतले बताए ।
तत्काल बेन्च सञ्चालन गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति एवं विसंगति अन्त्यका लागि पहल चाल्न भन्दै अभियानले प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाएको हो ।
