काठमाडौँ: पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् ।

लाप्राकमा निर्माण भइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माणको अवस्था बारे एनआरएनएका पदाधिकारीसँग छलफल गर्दै सीइओ ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न उनले आग्रह गरे ।

उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी काम गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए । उनले भने, “प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकोले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ ।” सीइओ ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि तयार रहेको पनि बताए ।

एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न आफूहरु कटिबद्ध रहेको बताए । उनले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टे सहितका पर्यटन प्रबद्र्धन, विभिन्न कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको जानकारी पनि दिए ।

छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा. चन्द्र बहादुर श्रेष्ठ, एनआरएनका महासचिव डा. बद्री केसी, लाप्राक बस्ती पुनर्निर्माणका परियोजना निर्देशक सुभाष अधिकारी लगायतको पनि सहभागिता थियो । लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५ सय ७३ घरहरु निर्माण गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version