काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ ।

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गरेका हुन् ।

समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवं सक्षम जनशक्ति आवश्यक पर्ने भन्दै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तथा विभिन्न क्षेत्रगत कार्य टोलीको सुझाव प्राप्त भएपछि सोको आधारमा नीति तथा कार्यक्रममा संशोधन गर्नुका साथै सोको मार्गनिर्देशनका आधारमा सरकारले कार्यान्वयन प्रक्रिया थप सुदृढीकरण गरिने जानकारी दिए ।

सुधार कार्यक्रममा बाल विकास केन्द्रको पुनर्वितरण तथा सञ्चालनमा सुधार, पाठ्यक्रम तथा पाठ्य सामग्रीमा समसामयिक सुधार, शिक्षक दरबन्दी पुनर्वितरण तथा न्यूनतम् शिक्षक सुनिश्चितताका लागि नेपाल सरकारबाट गठित दरबन्दी पुनर्वितरण कार्यदलको सुझावका आधारमा शिक्षक दरबन्दी पुनर्वितरण कार्य अघि बढाइनेलगायत उल्लेख छ ।

यसैगरी शिक्षक तालीम तथा पेशागत विकासलाई सुदृढीकरण गर्ने, शिक्षक प्रसंशा तथा प्रोत्साहनको व्यवस्था गरी उत्प्रेरणा अभिवृद्धि गर्ने, शिक्षकको वृत्ति विकास प्रणालीमा परिवर्तन गर्ने पनि कार्यक्रममा उल्लेख छ । मन्त्रालयले ‘विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ’अभियानलाई निरन्तरता दिने, शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने पनि जनाएको छ ।

मन्त्री पोखरेलले ज्ञानमा आधारित गुणस्तरीय शिक्षा दिन विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार गर्ने र विद्यार्थीको स्वास्थ्य तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा प्राथमिकता दिने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version