काठमाडौँ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ ।

आज वन मन्त्रालयमा भएको बृहत् छलफलपछि उहाँहरुबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो । निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ ।

छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थिए। मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

निजगढमा विमानस्थल मात्र निर्माण गर्दा सो क्षेत्रको वनका आठ लाख रूख कटान गर्नुपर्ने देखिएको छ भने शहरसमेत निर्माण गर्नका लागि २० देखि २२ लाख रूख कटान गर्नुपर्ने वन मन्त्रालयको अनुमान छ । उनीहरुबीच पर्यापर्यटनलाई प्रवद्र्धन गर्न दुवै मन्त्रालयबीच संयुक्त सर्भे टोली गठन गर्ने सहमति पनि भएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version