काठमाडौं: कन्चनपुर घटनाको अनुसन्धान गर्न गठित समितिबाट एकाएक राजिनामा दिएका गृहका उपसचिव तथा समिति सदस्य बिरेन्द्र बहादुर केसी पुनः समितिमा फर्किएका छन् ।

गृहमन्त्री राम बहादुर थापा बादल र प्रहरी प्रमुख सर्बेन्द्र खनालसंग गृहमन्त्रालयमा केसीको हिजो भएको बैठक र अनुसन्धानबारेको बिस्तृत छलफलपछि केसी पुनः समितिमा बस्न तयार भएको उनले आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

“गृहमन्त्रीज्यूसंग मेरो छलफलका क्रममा निर्मला पन्त हत्यामा संलग्न अपराधीहरुलाई कसै गरी नछोड्ने र मलाई चाहिएको सुरक्षा सरकारले दिने र प्रत्याभूति गर्ने भनेपछि म पुनः समितिमा फर्किएको हुन्,” केसीले भने । यसमा कसैको दवाब छैन यो मेरो स्वतन्त्र निर्णय हो अनसन्धान समितिमा बसेर काम गर्ने वातावरण र मेरो ज्यूधनको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने भनेपछि मैले सार्वजनिक रुपमा दिएको राजीनामा फिर्ता लिन चाहन्छु उनले भने।

पत्रकारहरुको जवाफमा उनले भने, “मेरो राजिनामा आउनु खासगरी मैले पटक पटक गृहमन्त्रीसंग भेटेर अनुसन्धानबाट भेटिएका तथ्य र विभिन्न बयानबारे मैले गृहमन्त्रीज्यूलाई राख्न प्रयास गरे तर भेट्न सकिन र समितिमा आफ्नो भनाई र भेटिएका तथ्य र संकलन गरिएका प्रमाणबारे उल्लेख नहुने भएपछी मैले राजीनामा दिएको हुँ। ”

“गृहमन्त्रीसंग, प्रहरी प्रमुख र समितिका संयोजक तथा सहसचिव हरिप्रसाद मैनालीसंग पुनः कुरा भएपछी घटनाको अनुसन्धानबाट फेला परेका र तयार पारिएका विभिन्न व्यक्ति र नागरिक समाजका आवाजलाई आधार प्रमाणको रुपमा राख्ने सहमति भएको र मिलेर काम गर्ने कुरा भएपछी म फेरी समितिमै फर्किएको हुँ,” उनले भने।

सरकारले गरेको सम्भावित व्यक्तिहरुको डीएनए परीक्षणबारे पनि उनले घुमाउरो पाराले पत्रकार सम्मेलनमा असहमति प्रकट गरे। “डीएनए परीक्षण मात्रै सबै थोक होइन यसको अलावा अरु थुप्रै तथ्य प्रमाणहरुलाई पनि अनुशन्धानको दायरामा ल्याइनु पर्छ,” उनले भने ।

गृहले निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा एक उच्चस्तरीय छानविन समिति भदौ ७ गते गठन गरेको थियो।

त्यो भदौ १५ गते…..
पत्रकार माझ कुरा राख्दै उनले भने – भदौ १५ गते हामी हाम्रो अनुसन्धान संयोजकसहित स्थलगत भ्रमणमा थियौं र मेरा अरु सदस्यहरु म भन्दा अलि अघि पुगिसक्नु भएको थियो, म चाँही केहि नागरिक समाजका सदस्य र स्थानीयहरुसंग निर्मलाको साइकल फालिएको नहर क्षेत्रमा थियौं त्यत्तिकैमा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले मलाई ‘तपाइले थाल्नु भएको अनसन्धान त राम्रो हो सर, तर यही क्षेत्रमा पटक पटक ट्रकले ब्रेक छैन भन्दै धेरै मानिस मारिसके ख्याल गर्नुहोला सर’ त्यस व्यक्तिको भनाईपछि म सोही दिन देखि आफ्नो सबै काम जिल्ला प्रशासन कार्यालयमै बसेर गर्ने निधो गरे । त्यसपछि मलाई आफ्नो ज्यानको माया भयो र मैले गर्नु पर्ने जति काम कोठाभित्रै बसेर गरे, केसीले त्यो भदौ १५ गतेको घटना सम्झदै पत्रकार सम्मेलनमा भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version