काठमाडौं: नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग भेटवार्ता गरेको छ ।
अफगानस्तानको उच्च शान्ती परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका उर्जामन्त्री पुनसंग शान्ती प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको हो । हबिबा अफगानस्तानकी पूर्वमन्त्री समेत हुन् ।
उर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागी एउटा नयां मोडल भएको बताए । उनले नेपालले शान्ती प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको दाबी गरे ।
अफगानीस्तानको उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसंगको भेटमा मन्त्री पुनले भने ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामिले शान्ति प्रक्रियाको आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौ ।’ उनले युद्ध कुनै पनि समाजको लागी राम्रो नभएपनि त्यसका पछाडी केही बाध्यता र केही ऐतिहासिक संयोग हुने बताए ।
‘द्धन्द्धका पछाडी ठाउअनुसार आ–आफ्नै कारणहरु हुन्छन्,तर युद्धको अवस्थालाई शान्तीको अवस्थामा ल्याउन युद्ध के कारणले भयो भन्ने थाहा पाउन आवश्यक छ ।’ छलफलको क्रममा मन्त्री पुनले भने ।
तत्कालिन माओवादीका उच्च तहका नेता समेत रहिसकेका मन्त्री पुनले अफगानीस्तानमा शान्तिप्रक्रिया प्रारम्भ भएको थाहा पाउंदा आफुलाई खुशी लागेको बताए । उनले नेपालको मोडलबाट अफगानीस्तानले सिकेर शान्ती कायम गर्ने दिशामा लाग्न समेत सुझाए । शान्ती प्रक्रिया भनेको लडाईभन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न मन्त्री पुनले सुझाव समेत दिए ।
नेकपाका नेता समेत रहेका मन्त्री पुनले शान्ती प्रक्रिया,हतियार व्यवस्थापन र सेना समायोजनका बारेमा आफ्नो अनुभव बताएका थिए । उनले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष जिम्मेवार भएमात्र निष्र्कशमा पुग्ने बताए ।
‘शान्तिका लागी वार्ता र छलफल गर्दा दुवै पक्षले मध्यविन्दु तय गर्नुपर्छ,वार्ता एक प्रकारको लेनदेन पनि हो,दुवै पक्षले मध्यबिन्दु तय गर्दा शान्ति प्रक्रिया अघि बढ्न सहज हुन्छ ।’ मन्त्री पुनले भने । उनले दुवै पक्ष आ–आफ्नो अडानमा रह्यो भने शान्ति प्रक्रिया अगाडि बढ्न कठिन हुने समेत बताए ।
मन्त्री पुनले अफगानस्तानले नेपाललेजस्तै सवै पक्षलाई समेटेर छिट्टै शान्ति कायम गर्नेमा आफु आशावादी रहेको बताए । विश्वमा शान्ति स्थापनाको लागी धेरै प्रकारका मोडल भएको भन्दै मन्त्री पुनले अफगानस्तानले स्थायी शान्तीको लागी नेपाली मोडेल अवलम्बन गर्न सुझाव दिए ।
भेटमा अफगानीस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा हबिबा साराबीले अफगानीस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिईन । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागी उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफुहरु ईच्छुक रहेको बताईन ।
अफगानिस्तानमा शान्तिप्रक्रियाको लागि उच्च शान्ति परिषद्ले काम गर्दै आएको छ । भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत,पुर्व जनमुक्ति सेनासंग भएको हतियारको अवस्था र शँन्ती प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ती तथा पुर्ननिर्माण मन्त्रालयको काम कार्वहीको बारेमा समेत जिज्ञासा राखेका थिए ।
